वैयक्तिक विवरण फाराम (सिटरोल) दर्ता गर्नेः
नयाँ नियुक्ति पाएको कर्मचारीले स्थायी पदमा समूह सञ्चालन गर्ने प्रचलित कानूनमा अन्यथा उल्लेख भएकोमा बाहेक सेवामा प्रवेश गरेको एक महिना भित्र अनिवार्य रुपमा किताबखानामा आफ्नो वैयक्तिक विवरण फाराम (सिटरोल) दर्ता गरी प्रमाणित गराई संकेत नम्बर प्राप्त गर्नु पर्नेछ ।
सिटरोल दर्ता वा प्रमाणित गर्नका लागि सम्बन्धित कर्मचारीले देहायका विषयहरु उल्लेख गरी अनुसूची - १ बमोजिमको ढाँचामा सिटरोल पाँच प्रति भरी सम्बन्धित कार्यालय प्रमुखबाट प्रमाणित गराई तपसिल बमोजिमका प्रमाण कागजात सहित दर्ताका लागि किताबखानामा पेश गर्नु पर्नेछ:-
- सिटरोल फाराममा उल्लेख गर्नुपर्ने सम्पूर्ण विवरणहरू अनिवार्य रूपमा उल्लेख गरी सम्बन्धित कर्मचारीले औंठा छाप लगाई दस्तखत गरी सम्बन्धित कार्यालयको कार्यालय प्रमुखबाट प्रमाणित गराई प्रमाणित गर्ने अधिकारी र सम्बन्धित कार्यालयको छाप लगाएको,
- हालसालै खिचेको पासपोर्ट साइजको फोटो टाँसी सो फोटो समेतमा पर्ने गरी सम्बन्धित कार्यालयको कार्यालय प्रमुखले फोटो प्रमाणित गरेको,
- सम्बन्धित कार्यालयले सिटरोल दर्ता गरी प्रमाणित गरिदिन शुरू हाजिर भएको (बहाली गरेको) मिति उल्लेख गरी लेखेको सिफारिश पत्र,
- शैक्षिक योग्यताको प्रमाण पत्र, नेपाली नागरिकताको प्रमाणपत्र, स्थायी नियुक्ति पत्र, पदस्थापन पत्र, शपथ ग्रहण र निरोगिता लगायतका प्रमाणपत्रहरूको प्रतिलिपिमा सम्बन्धित कार्यालय प्रमुख वा तालुक निकाय र मन्त्रालयमा कार्यरत कम्तीमा अधिकृतस्तर सातौं तहको कर्मचारीबाट अनिवार्य रूपमा प्रतिलिपि प्रमाणित गराई प्रमाणित गर्ने अधिकृत र कार्यालयको छाप लगाएको,
- सिटरोलमा नेपाली नागरिकतामा उल्लेख भए बमोजिमको ठेगाना लेख्नु पर्ने, नागरिकतामा उल्लेख भएको भन्दा फरक ठेगाना भएमा बसाईसराईको प्रमाण पत्रको प्रमाणित प्रतिलिपि,
- विवाहित महिला कर्मचारीको हकमा निजले आफ्नो पतिको घर तर्फको ठेगाना राख्न चाहेमा वा राखेमा विवाह दर्ताको प्रमाण पत्रको प्रमाणित प्रतिलिपि,
- प्रमाणपत्रहरूमा नाम, थर, ठेगाना फरक परेकोमा सम्बन्धित स्थानीय तहको सिफारिस पत्र,
- प्रदेश लोक सेवा आयोगको सिफारिसपत्रको प्रमाणित प्रतिलिपि,
- इच्छाइएको महलमा कुनै विवरण नभरेको भए कार्यालय प्रमुखले प्रमाणित गर्नु अघि उक्त महलमा "हाल कसैलाई पनि नइच्छाइएको” भन्ने व्यहोरा खुलाएको ।